रजिष्ट्रारको भनाई

रजिष्ट्रारको भनाई



नेपालमा कम्पनीहरुको दर्ता र कम्पनी अध्यावधिक गर्ने सम्वन्धी प्रशासन संचालन गर्न नेपाल सरकार, उद्योग मन्त्रालय अन्तर्गत विभागस्तरीय कम्पनी रजिष्ट्रारको कार्यालयको स्थापना भएको हो । नेपाल राज्यभर कार्यक्षेत्र रहेको यस कार्यालयवाट नै कम्पनी ऐनको कार्यान्वयन हुन्छ । कम्पनीहरुको दर्ता र कम्पनी प्रशासन सम्वन्धी विविध कार्यहरु गर्न सर्वप्रथम वि.स. १९९३ मा कम्पनी ऐन तर्जुमा भएको र तत्पश्चात वि.स. २००७, २०२१, २०५३ र २०६३ मा समसामयिक परिमार्जन र संशोधन हुँदै आएको पाइन्छ। यस ऐनलाई अझै सहज, समसामयिक, व्याबहारिक र स्पष्ठ वनाउन पुन: संशोधनको अन्तिम तयारीमा रहेको छ । वर्तमान कम्पनी ऐनको दफा १६ ले दिएको अधिकार प्रयोग गरी हाल कम्पनी निर्देशिका, २०७२ कार्यन्वयनमा ल्याई कम्पनी दर्ता र प्रशासनलाई चुस्त, दुरुस्त र काम कारवाहीमा एकरुपता ल्याउने प्रयास गरिएको छ। यस निर्देशिकाको एक वर्षको कार्यान्वयनपछि देखिएका कमी, कमजोरी र भ्रमहरुलाई थप स्पष्ठ गर्न २०७३ मङ्सिरदेखि निर्देशिकामा पहिलो संशोधन गरी कार्यान्वयनमा ल्याइएको छ ।

कम्पनी ऐनले निर्दिष्ठ गरेका कार्यहरु सम्पादन गर्न हाल यस कार्यालयमा रा. प. प्रथम श्रेणी, सहसचिव स्तरको कार्यालय प्रमुख (रजिष्ट्रार)को नेतृत्वमा स्थायी दरवन्दी ४६, सालवसाली स्वीकृत दरवन्दी ५ र दामासाही प्रशासनका लागि ४ दरवन्दी गरी कुल ५५ जना कर्मचारीहरु कार्यरत छन् । यस मध्ये ३० दरवन्दी अधिकृतस्तर र अन्य सहायक तथा श्रेणी विहिनस्तरका छन् ।

कम्पनीहरुको दर्ता र अध्यावधिक गर्ने प्रशासनिक कार्यलाई वढी सरल, सहज र वैज्ञानिक वनाउन २०७० कार्तिकदेखि अनलाइन सेवाको प्रारम्भ गरिएको छ । विगत २ वर्षको अवधिमा यस कार्यालयले अन्तर्राष्ट्रिय Corporate Registrars Forum को सदस्यता प्राप्ति, नयाँ संगठन संरचनाको तर्जुमा, लगानीकर्ता संरक्षण कोषको स्थापना तथा यस सम्वन्धी कार्यविधि तर्जुमा, पुराना र अनावश्यक सामग्रीहरुको लिलामी, सूचनाको हक सम्वन्धी ऐनले व्यवस्था गरे अनुसार जानकारी पुस्तिकाको आवधिक प्रकाशन,जिल्लाहरुमा कम्पनी दर्ता र अध्यावधिक गर्ने विधि र प्रक्रियाका सम्वन्धमा चेतनामुलक कार्यक्रम संचालन, अनलाइन फाईलिंग र भौतिक फाईलहरुको भण्डारण क्षमताको अभिवृद्दि तथा विस्तार, आन्तरिक राजश्व विभाग र उद्योग विभागसंग अनलाइन नेटवर्क स्थापना लगायत थप कार्यकक्षहरु निर्माण भएका छन् । त्यसैगरी यस अवधिमा यस कार्यालयवाट कम्पनी अध्यावधिक गर्न विभिन्न पत्र पत्रिकामा प्रकाशन गरेको सार्वजनिक सूचना, जिल्लास्तरमा गरेको चेतनामुलक कार्यक्रम तथा विभिन्न मन्त्रालय, संवैधानिक निकाय र विभागहरु मार्फत गरिएको परिपत्रवाट अध्यावधिक हुने कम्पनीहरुको संख्यामा उल्लेख्य वृद्दि भै यस कार्यालयवाट उठ्ने राजश्व समेत क्रमिक रुपमा वृद्धि हुन पुगेको छ ।

कम्पनीहरुको दर्तापछि कानुनमा व्यवस्था भए अनुसार कार्यालयमा नियमित रुपमा कागजात तथा विवरणहरु वुझाउनु पर्ने हुन्छ। कानुनमा तोकिए वमोजिमको कागजात तथा विवरणहरु अनिवार्य रुपमा अनलाइन पेश गरेमा मात्र कम्पनी अध्यावधिक भएको मानिन्छ । तोकिएको अवधिमा कागजात तथा विवरण पेश नभएमा ढिला हुन गएको अवधि र चुक्ता पुंजी रकमको आधारमा जरिवाना लाग्ने भएकोले समयमा नै तोकिएको कागजात र विवरणहरु वुझाई जरिवानावाट वच्न समेत सम्वन्धित सवैमा अनुरोध गर्न चाहन्छु । यस कार्यालयवाट प्रदान गरिने सेवा प्राप्त गर्ने विधि र प्रक्रियाको वारेमा विस्तृत जानाकारी लिन यस कार्यालयको website: www.ocr.gov.np मा अध्ययन गर्न समेत अनुरोध गर्दछु।

अन्त्यमा, यस कार्यालयलाई हालको अवस्थामा ल्याउन सघाउ पुर्याउने उद्योग मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., बीमा समिति, नेपाल उद्योग वाणिज्य महासंघ र मातहतका निकायहरु, सवै उद्योगी व्यवसायी एवं सेवाग्राहीहरु तथा यस कार्यालयका सम्पूर्ण कमचारीहरुप्रति आभार र धन्यवाद प्रकट गर्न चाहन्छु ।

धन्यवाद !

रजिष्ट्रार

प्रेम कुमार श्रेष्‍ठ


 सूचनाहरु सबै हेर्नुहोस

  • 468 2080-5-7 14:57:48